श्रावण २ गते शुक्रवार, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्त कुमार नेम्वाङले कीर्तिपुर नगरपालिकाको निरिक्षण गर्नुभएको छ। माननीय मन्त्रीका साथमा संघीय सांसद् कृष्ण गोपाल श्रेष्ठ र विना श्रेष्ठ पनि हुनुहुन्थ्यो । छोटो समयमा अकल्पनिय काम गरेर जनतासामु विश्वसनीय छबि बनाउनुभएका नेम्वाङलाइ कीर्तिपुर नगरपालिकाको नयाँ भवनमा नगर प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्का तथा पूर्व राज्यमन्त्री दिलिप महर्जन लगायतले स्वागत गर्नुभएको थियो।
स्वागत कार्यक्रमका क्रममा कीर्तिपुर नगरपालिका नगर प्रमुख रमेश महर्जनले सरकारबाट कीर्तिपुरको विकासमा सहयोग हुने अपेक्षा गर्नुभएको थियो भने कीर्तिपुरमा बनाउन लागिएको स्मार्ट स्ट्रीट लाइट (नगर उज्यालो कार्यक्रम) को अवधारणा पत्र (DPR) पनि हस्तान्तरण गर्नुभएको थियो। आफै नै निरीक्षणमा खटिएर कामको विस्तृत जानकारी लिएर समयमानै काम सकाउन माहिर नेम्वाङले, बिदाको दिनमा स्थानीय स्तरमा भैरहेको भौतिक निर्माणको निरीक्षण गर्ने योजना अन्तर्गत्, शुरुवात कीर्तिपुरबाट गरेको बताउनुभएको थियो। अवधारणा पत्रनै तयार भैसकेकोमा, मन्त्रि नेम्वाङले नगरपालिकाको कार्यशैलिको प्रशंसा गर्नुभएको थियो। कीर्तिपुर वडा नं. ९ नगाउँमा बनाइरहेको रिटेलिङ्ग वाल तथा ढल निकासको योजनाको स्थलगत निरीक्षण गर्दै पुष्पलाल पार्कमा अवस्थित् नेपाल कम्यूनिष्ट पार्टीको संस्थापक महासचिव क.पुष्पलालको प्रतिमामा फूलगुच्छा चढाउनु भएका नेम्वाङले आफैले शिलान्यास गरेको कीर्तिपुर –चन्द्रागिरि जोड्ने मितेरी पुलको समेत निरीक्षण गर्नुभएको थियो। लकडाउनका कारण सो योजना समयमै पूरा हुन सकेको भने छैन।
कीर्तिपुर वडा नं. २ मा अवस्थित उमा महेश्वर मन्दिरमा पनि माननीय मन्त्री नेम्वाङ्गलाई भ्रमण गराइएको थियो भने स्थानीय बासिन्दाहरुले टिका लगाई स्वागत गर्नुभएको थियो। अन्तमा वडा नं. १ को कार्यालयमा कार्यक्रम समापन गरिएको थियो। समापन कार्यक्रममा नगर उप–प्रमुख खड्काले धन्यवाद दिनु भएको थियो भने नगर प्रमुख महर्जनले माननीय मन्त्री नेम्वाङलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
समाचार तथा तस्बिर साभार : नगर सन्देश